• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

पुरानो मेडिकल कलेज भरतपुरको लापर्वाहीले महिलाको निधन भएको आफन्तको आरोप, अस्पताल द्वारा अस्वीकार तर क्षतिपुर्ती दिन तयार


नाली बेली

पुरानो मेडिकल कलेज भरतपुरको लापर्वाहीले महिलाको निधन भएको आफन्तको आरोप, अस्पताल द्वारा अस्वीकार तर क्षतिपुर्ती दिन तयार

डाक्टर तथा नर्सहरुले एउटा इन्जेक्शन लगाइदिने बित्तिकै बिरामी छटपटाउँदै मुर्छा परी केही समयमा निधन भएको बिरामीका कुरुवाले बताएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् ।

पूरानो मेडिकल कलेजमा उपचाररत ३२ वर्षीया महिलाको मृत्यु भएपछि मेडिकल कलेज परिसर आज दिनभर तनावग्रस्त बन्यो ।

डाक्टर तथा नर्सहरुले एउटा इन्जेक्शन लगाइदिने बित्तिकै बिरामी छटपटाउँदै मुर्छा परी केही समयमा निधन भएको बिरामीका कुरुवाले बताएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् । चिकित्सक र नर्सहरुको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुको हुल अस्पतालको प्रशासनमा प्रवेश गरेपछि तनावको अवस्था सृजना बनेको हो । तोडफोड हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० बडगाँउकी ३२ वर्षीया शर्मिला हटुवाल उप्रेती हुन् । बिरामीकी जेठानी जानकी रिमाल उप्रेतीका अनुसार साउन ९ गते ज्वरो आएपछि उनीहरु शर्मिलालाई लिएर स्थानीय अस्पतालमा गएका थिए । स्थानीय अस्पतालले ज्वरो र पिसाब सम्बन्धी समस्या देखिएपछि भरतपुरको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) मा रिफर गरेको थियो ।

MVI_0718.00_02_39_06975.Still002.jpg
undefined

९ गते अस्पताल आउँदा बिरामीलाई ज्वरो आए पनि अरु अवस्था सामान्य थियो । बिरामी बोल्ने, खाने, हिँड्ने सबै गर्दथिन । जेठानीका अनुसार अस्पतालमा रहँदा उनको अवस्था पनि सुधार हुँदै आएको थियो । ज्वरो नरोकिएकाले आइसियुमा उनको उपचार भइरहेको थियो । तर बिरामी खाने, बोल्ने, शौचालय समेत आफै एक्लै जाने गर्दथिन् ।
एउटा इन्जेक्शन लगाएपछि बिरामीले पोल्योपोल्यो भन्दै बेहोस भएर ढलेको र मुखबाट फिज निकालेको शर्मिलाकी जेठानीले बताइन् । त्यसपछि एक घण्टासम्म पनि डक्टरहरु नआएको उनले जानकारी दिइन् । यो सरासर अस्पतालको लापरबाही भएकाले अब अरुलाई पनि यस्तो नहोस् भनेर सचेत गराउन आफूहरुले तत्काल शव बुझ्न नमानेको बिरामीका आफन्तले बताएका छन् ।
शव बुझ्न नमानेपछि आज दिनभर अस्पताल प्रशासन र मृतकका आफन्तसहित स्थानीय जनप्रतिनिधिबीच वार्ता बस्यो । ४ घण्टासम्म बसेको वार्ताले एउटा सहमति निकालेपछि शव बुझ्न बिरामीका आफन्त राजी भए ।
वार्ता टोलीमा रहेका मृतककी जेठाजु नवराज उप्रेतीका अनुसार मृतकका दुई वटा बच्चा बिरामी भए स्वास्थ्य उपचार गरिदिने र १२ कक्षासम्मको शिक्षा दिलाइदिने सहमति भएको छ । बच्चाहरु १० वर्ष र ६ वर्षका दुबै छोरा हुन् । वार्ता टोलीमा शर्मिलाकी श्रीमान् पनि सहभागी थिए । अस्पतालले गल्ति नस्विकारे पनि मानवीय नाताले सहयोग गर्छाैं भनेर अस्पतालले भनेको जेठाजुले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भनेका छन् । लापरबाही हो की होइन भनेर छानबिन गर्न जिल्ला प्रशासनमार्फत छानबिन समिति बनाएर अनुसन्धान गर्ने सहमति भएको उनले जानकारी दिए । सहमति पत्र नभई अहिले सबैको रोहबरमा मौखिक सहमित भएको उनको भनाइ छ ।
वार्ता भइरहेको बाहिरपट्टि १५/२० जना सञ्चारकर्मीहरु हुल बसिरहेका थिए । अस्पताल प्रशासनका तर्फबाट कसैले पनि मिडियामा बोल्न खोजेनन् । एकछिन् एकछिन् भन्दै हिँडेका अस्पताल प्रशासन र चिकित्सकहरु पछि सम्पर्क बिहिन नै भए । सञ्चारकर्मीको समूहले प्रशासनको प्रतिक्रिया लिने लामो प्रयास गर्दा पनि असफल बन्यो । हामी त्यो प्रतिक्रियाको अपेक्षामा छौं उहाँहरु आएपछि भनिदिनुहोला भन्ने खबर सुरक्षागार्ड समक्ष छाडेर सञ्चारकर्मीको टोली फर्किएको थियो । अस्पतालले अझैसम्म कुनै जवाफ दिन आवश्यक ठानेको छैन ।


प्रकाशित : शुक्रबार, साउन १२ २०८००५:५६
प्रतिक्रिया दिनुहोस