असार ३१ को मध्यरातबाट केही मूल्य घट्नेगरी नयाँ मूल्यसूची समेत सार्वजनिक गरिएको छ।
अब परल मूल्यमा डीजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मात्र मुनाफा लिने र एलपी ग्यासको बिक्री परल मूल्यमा नै कायम गर्नेगरी सम्पूर्ण मूल्य स्वचालित प्रणालीमा लैजाने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्तिसचिव मधु मरासिनीले पत्रकार सम्मेलनमा बताएका छन्।
एलपी ग्यासमा लामो समय ठूलो सहुलियत दिइएको दाबी गरिएको भए पनि पछिल्लो समय ग्यासमा समेत सरकार १० रुपैयाँ नाफामा थियो।
हवाई इन्धनको हकमा भने साबिककै व्यवस्था लागु हुने बताइएको छ।
नयाँ व्यवस्था लागु भएसँगै अब प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा आईओसीले पठाउने मूल्य सूचीका आधारमा नेपालमा मूल्य निर्धारण हुने छ।
अब पेट्रोलियम पदार्थको कहाँ कति मूल्य?

यो निर्णयसँगै चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर १६१.५० रुपैयाँ कायम भएको छ।
त्यसै गरी डीजल र मट्टितेलको मूल्य प्रतिलिटर १४३.५० रुपैयाँ भएको छ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपयाँ र डिजेल अनि मट्टितेलको मूल्य १४५ रुपियाँ प्रतिलिटर कायम भएको छ।
काठमाण्डू, पोखरा र दिपायलमा पेट्रोलको मूल्य अब प्रति लिटर १६४ रुपियाँ भएको छ।
त्यसै गरी डिजेल र मट्टितेलको मूल्य मध्यरातबाट १४६ रुपैयाँ प्रतिलिटर हुने छ।
एलपी ग्यासको मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ पुगेको छ।
हवाई इन्धनमा भने यसअघिकै मूल्य कायम छ।
नयाँ मूल्य अनुसार भारतको रक्सौलको तुलनामा वीरगन्जमा पेट्रोल प्रतिलिटर नेपालमा १३.२७ रुपैयाँ र डीजलमा ९.९४ रुपैयाँ मूल्य सस्तो पर्न आउँछ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २३.८१ रूपैयाँ सस्तो पर्ने भए पनि बाह्यतर्फ भने नेपालमा प्रतिकिलोलिटरमा १६८.९५ अमेरिकी डलर पर्ने छ।
एलपी ग्यासमा समेत नेपालमा सीमावर्ती सहरको तुलनामा प्रतिसिलिन्डर १३६.६० रुपैयाँ सस्तो पर्ने छ।