नक्कली भुटानी शरणार्थी प्रकरणका गिरोहले चितवनमा पिडितहरुबाट उठाइएको दुई बोरा पैसा सरकारी गाडीमा राखेर काठमाडौँ पुर्याएको खुलेको छ ।
गाडी लिएर जान भनेअनुसार काठमाडौं आउन खोज्दा शर्माले गाडीमा पैसा भएको बोरा पनि राखिएको बयान प्रहरीसमक्ष दिएका छन् ।
‘त्यहाँको होटल भिजन सफारीमा बसेका थियौं, भोलिपल्ट त्यहीँ ६०÷७० जना मानिसहरु बायोमेट्रिक गर्न आएका थिए, गृह मन्त्रालयले पठाएको भन्दै शरणार्थी लेखिएको कागजमा साँझको समयमा औंठा छाप गर्न लगाएका थिए’, गिरी भन्छन्, ‘बायोमेट्रिकको काम पूरा गरेर उनीहरुबाट लाख÷लाखको बण्डल भएको रकमहरु बुझेका थिए, त्यसको प्रत्यक्षदर्शी समेत हुँ ।’
आफूले पनि अमेरिका जाने सोच बनाएर रामकुमार रेग्मीको सल्लाह अनुसार ३ लाख रुपैयाँ बुझाएको उनले भनेका छन् । त्यसक्रममा उनीहरुले आफ्नो पनि आँखा परीक्षण गर्ने, फोटो टाँस्ने र औंठा छाप गर्ने जस्ता काम गरेको गिरी बताउँछन् ।
‘त्यतिबेला अन्य पीडित व्यक्तिसँग नगद पैसा उठाएर सन्देश शर्मालाई बुझाइएकोमा उनले त्यो रकम प्लाष्टिकको सेतो दुई वटा बोरामा राखिरहेको मैले देखेको थिएँ’, उनी भन्छन्, ‘म काम विशेषले काठमाडौं आउनुपर्ने भएकाले रेग्मीलाई जान्छु भन्दा उनले मेरो साथी सन्देश शर्माको कालो रंगको गाडी लिएर घरमा छाडिदिनु भनेका थिए ।’
गाडी लिएर जान खोज्दा शर्माले सरकारी नम्बर प्लेटको गाडीमा पैसा भएको बोरा राख्न भनेको उनले बयानका खुलाएका छन् ।
बीबीए १४०५ नम्बरको गाडीको नम्बर परिवर्तन गरेर चितवन लगेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।